दिल्ली विस्फोटले उब्जाएका प्रश्नहरु

संसारको महाशक्तिहरुमध्येका एक मानिने भारतको राजधानी दिल्लीको मुटु मानिने क्षेत्र ऐतिहासिक लालकिल्ला नजिक  ११ नोभेम्बरको साँझ भएको विस्फोट काण्डले धेरै प्रश्नहरु उब्जाएको छ । हुन्डाई i20 कारमा भएको विस्फोट काण्डमा १३ जनाको ज्यान गयो, दर्जनौं घाइते भए। यस्तो त्रासदीले राजधानीमा बस्ने नागरिक मात्र होइन, सम्पूर्ण भारतलाई झस्काएको छ। पटक पटक ‘आतंकवादी हमला’को चपेटामा पर्दै आएको भारतको राजधानीमै भएको यस विस्फोट काण्डले सुरक्षाको सन्दर्भमा “राजधानी सधैं सुरक्षित छ” भन्ने विश्वासलाई धूलोपीठो पारिदिएको छ ।

विस्फोटको स्थान, समय र प्रतीकात्मकता दुवै महत्त्वपूर्ण छन्। दिल्लीको पुरानो बजार, पर्यटकको आकर्षण केन्द्र र राष्ट्रिय स्मृतिको प्रतीक लालकिल्लाको नजिक भएको विस्फोटले घटनाले भारतीय सुरक्षा कमजोरीलाई पर्दाफाश गरिदिएको छ । भारतीय प्रहरी र सुरक्षा निकायले तुरुन्तै यसलाई आतंकवादसँग जोड्दै Unlawful Activities Prevention Act (UAPA) अन्तर्गत अनुसन्धान सुरु गरेको छ। कारको मालिकलाई हिरासतमा लिइएको छ, र सवारी साधन बिक्री–हस्तान्तरणको विवरण खोतलिँदैछ।

भारतमा हरेक ठूलो विस्फोटपछि यस्तै प्रतिक्रिया देखिन्छ—तत्काल उच्च सुरक्षा सतर्कता, उच्चस्तरीय बयान, र दोषीलाई “छोडिँदैन” भन्ने घोषणा। तर सुरक्षाको जरा कहाँ, किन र कसरी  टुट्छ भन्ने सवाल बारम्बार अनुत्तरित रहँदै आएको छ । हरेक घटनापछि कडा कानूनी कारवाही र घटनालाई दोहोरिन नदिने प्रतिबद्धताको बाढी आउने गर्छ  तर यस किसिमका घटनाहरु समयको अन्तरालमा दोहोरिरहेको छ।

भारतमा ‘आतंकवाद’ नयाँ कुरा होइन। विगत दुई दशकमा मुम्बई ट्रेन ब्लास्टदेखि लिएर हैदराबाद र जयपुरसम्म, विस्फोटका अनेक श्रृंखलाले सयौं जनाको ज्यान लिएका छन्। विश्लेषकहरुका अनुसार भारतमा आतंकवादको स्वरूप बहुआयामिक छ—धार्मिक चरमपन्थ, माओवादी विद्रोह, र क्षेत्रीय विभाजनवादी आन्दोलन तीनै रुपले देशलाई आक्रमण गर्दै आएका छन्। यसले सुरक्षा रणनीति पनि बहुस्तरीय हुनुपर्ने देखाउँछ।

दिल्ली विस्फोटले अर्को महत्वपूर्ण कुरा पनि देखायो—भीडभाड क्षेत्र, मेट्रो स्टेशन र पुराना बजारजस्ता स्थानहरू अहिले सबैभन्दा असुरक्षित बन्दै गएका छन्। चलायमान सवारी साधन प्रयोग गरेर गरिने विस्फोटहरू प्रहरीका लागि अझ चुनौतीपूर्ण बन्दै गइरहेको देखिन्छ ।

घटनापछि सुरक्षाबलले राजधानीका मुख्य नाकामा चेकपोइन्ट बढाएका छन्, तर यस्तो हतारो सतर्कता लामो समय टिक्दैन। आतंकको सामना केवल प्रहरीको बन्दुकले होइन, नागरिकको चेतनाले पनि गर्नुपर्छ। भीडमा उभिएका सामान्य मानिसले पनि असामान्य गतिविधि देख्दा रिपोर्ट गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ।

यी सबै पृष्ठभूमिमा अहिलेको विस्फोटलाई एक पृथक घटना भनेर हेर्न सकिँदैन। यो भारतको लामो आतंकवादी इतिहासको अर्को कडी हो । इतिहासले देखाउँछ कि आतङ्कवादले सीमाना, धर्म वा सत्ताको अनुहार खोज्दैन; ऊ जहाँ प्रणाली कमजोर छ, त्यहीं प्रवेश गर्छ। दिल्लीको विस्फोटले त्यो कमजोर कडीलाई फेरि उजागर गर्‍यो।

अब चुनौती केवल दोषी खोज्ने होइन, संरचना सुधार्ने हो। नागरिक सुरक्षा प्रणालीलाई “प्रतिक्रियात्मक” होइन, “पूर्वानुमानात्मक” बनाउनुपर्छ। राजधानीको सुरक्षालाई देखावटी कडा निगरानीबाट वास्तविक सामुदायिक सतर्कतामा रूपान्तरण गर्नुपर्छ।

कुनै पनि घटनाक्रमलाई फगत आतंकवादको बर्को ओढाइदिँदैमा त्यसको अन्त्य हुनेवाला छैन । सबैभन्दा मुख्य कुरा, यस किसिमका घटनाहरु घटित हुनुका पछाडिका जड कारणहरु पनि खोतलिनु जरुरी छ । त्यस्ता कारणहरुको पहिचान र त्यसका उत्पत्तिका स्रोतहरुको निर्मम समीक्षाले मात्रै यस किसिमका गतिविधिहरुलाई निर्मुल पार्न सकिनेछ ।

तस्विर: https://images.indianexpress.com