कार्ल हेनरिक मार्क्स
हान्स माग्नस एञ्जेन्सवर्जर^
मैले तिम्रो चेहरा देखेको छु
हिउँ जस्तै धवल प्रभामण्डल
ज्याद्रो झगडालु
अनि आलमारीमा असरल्ल तिम्रा लेखौटहरु ;
मासु पसलेको बही खातामा चढेको उधारो
तिम्रा उद्घाटन भाषणहरु
तिम्रो गिरफ्तारीमा जारी भएका वारेन्टहरु
तिम्रो भीमकाय शरीर
फरार अभियुक्तको सुचीमा देखेको छु
घघडान गद्दार
विस्थापित मनुवा
टेलकोट र भित्रि भोटोमा
एक शिथिल अनिदो मानिस
सिगरको अम्मली
सुख्खा र बढीमा नुनिलो सलादमा
घुट घुट पिएको मदिराले जलेको तिम्रो पित्तथैली
रु दालियांसको डिन सडकको भिरालो पाखामा रहेको
मैले तिम्रो घर देखेको छु
भव्य पुँजीवादी
घरेलु मामिलामा तिमि त जन्ड काजी नै हौ
फाटेका चप्पलमा हिंडी दिने
धैलोमैलो 'आर्थिक कंगाल'*
उदारो 'हर हमेशा'*
लालाबालाको कफन
जस्केलाबाट भित्रिने आपत विपत
तिम्रा ति सिद्ध हातमा
कुनै मेशिन गन थिएन
ब्रिटिश संग्राहलयको ल्याम्प पोस्ट मुनि
मैले धिरजतापुर्वक बसेको तिम्रो प्रतिमा देखेको छु
आफ्नै घर भने भताभुङ्ग भएको
कत्रो धैर्यता
अरुका घरको निम्ति मरिहत्ते गर्ने अग्रदुत
जुन घर तिमीले देख्नै पाएनौ
हे महामना महात्मा
तिमीलाई तिम्रै शिष्यहरुले पो धोका दिए
वैरीहरु त
हिजो जस्ता थिए
आज पनि उस्तै छन् ।
मैले तिम्रो चेहरा चिहाएको छु
अप्रिल बयासीको अन्तिम फोटोमा**
एक छुपेरुस्तम
स्वतन्त्रताको छुपेरुस्तम
^ प्रसिद्ध जर्मन लेखक, कवि, अनुवादक एवम् सम्पादक ।
* उद्धरण एङ्गेल्सलाई मार्क्सका चिट्ठीबाट*
** सन् १८८२ को अप्रिलमा मार्क्स स्वास्थ्य लाभको निम्ति अल्जियर्स ग'का 'थे । त्यहाँ उनले आफ्नो कपाल र दारी जुँगा सफाचट काटेका थिए । तल प्रस्तुत लामो कपाल, झ्याम्लाङ्ग दाह्री जुँगा भ'को र पुरै छोट्याको फोटो इ. डुटेट्रले खिचेका थिए जो मार्क्सका अन्तिम फोटा बने । यहाँ कवि मार्क्सको त्यहीं कपाल दाह्री जुँगा खौरेको फोटो संकेत गर्छन् ।

प्रतिक्रिया